व्यवसायलाई जोड्न ‘बिजनेस नेटवर्किङ आवर्स’ कार्यक्रम

क्लक बि बिजनेश इनोभेसन्स प्रा.लि.ले ‘बिजनेस नेटवर्किङ आवर्स’ इभेन्ट आयोजना गर्ने भएको छ। यही असार १५ गते याक एण्ड यती होटलमा उक्त कार्यक्रम हुनेछ।
नेपाली व्यवसायलाई एक अर्कासँग जोड्ने हिसाबले यो इभेन्ट आयोजना गर्न लागिएको आयोजक कम्पनीका निर्देशक डिल्ली राम जोशीले को भनाइ छ। नेपालका हरेक वर्गका व्यवसायीले अन्तरक्रिया कार्यक्रममा व्यवसाय कसरी अगाडी बढाउने भन्ने विषयमा सुझाव दिन र लिन सक्नेछन्। कार्यक्रममा बैंकर अनिल केशरी शाह र संचारकर्मी रबिन्द्र मिश्रको पनि सहभागीता रहने कम्पनीका निर्देशक जोशीले बताए।
कार्यक्रममा ४ सय ५० व्यवसायीको सहभागीता हुनसक्ने आयोजकले जनाएको छ।
‘नेपालमा सबै व्यवसायी मिलेर कसरी अगाडि बढ्ने, व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चर्चा गरिनेछ,’ जोशीले भने, ‘साथै यस कार्यक्रमको अर्को उद्देश्य भनेको एउटा मौका वा मञ्च तयार पार्नु हो। एक अर्काको व्यवसाय प्रति सम्मान गर्न सिकाउनु हो। सबैले एउटा सकारात्मक र फरक सोचका साथ अघि बढ्नु जरुरी छ।’
कार्यक्रममा बिजनेश कार्ड प्रोमोशन, बिजनेश प्रोमोशन, अनलाइन थ्रेड मेन्टरीङलगायतका क्रियाकलाप गरिने छन्।
‘विदेशमा यस्ता प्रकारका कार्यक्रम धेरै हुन्छन्,’ जोशीले भने, ‘नेपालमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना हुन लागेको छ र हामी निकै उत्साहित छौं। नेपालमा व्यवसाय गर्न कसैसँग लगानी छ भने कसैसँग ज्ञान वा उपाय छ। पैसा मात्र वा उपाय मात्र भएर व्यवसाय गर्न सकिदैँन। यी दुवै एक अर्काका परिपूरक हुन्। हाम्रो उद्देश्य नै यस्ता व्यक्तिलाई एक अर्कासँग भेट गराउने हो। उनीहरु आफ्नो बारेमा छलफल गरेर अघि बढ्न सक्छन् र केही नयाँ सिर्जना गर्न सक्छन्।’
यस कार्यक्रमले एउटा व्यापारीक सञ्जाल निर्माण गर्ने र व्यापारिक समाजमा आफूलाई चिनाउन मद्दत गर्ने कम्पनीका सिइओ बिनय देवकोटा बताउँछन्।
‘यस कार्यक्रमले नयाँ सञ्जालको निर्माण गर्छ जसमा व्यापारीक साझेदार, आपूर्तिकर्ता तथा सुझावकर्ता संलग्न हुनेछन्,’ देबकोटाले भने, ‘कार्यक्रम मार्फत् आफ्ना योजना र ज्ञानलाई लगानीकर्ता माझ प्रस्तुत गर्ने अवसर मिल्नेछ। विभिन्न विधाका दक्ष तथा अनुभवी व्यक्तित्वबाट सुझावका साथै नयाँ व्यापारीक अवसार प्राप्त गर्ने अवसर मिल्ने छ।’
इभेन्टपछि पनि कम्पनीको वेबसाइटबाट नेटवर्किङ जारी रहने देवकोटाले बताए।
कार्यक्रममा उपस्थित हुने व्यक्ति नै एक अर्काका ग्राहक, साझेदार, प्रवर्धक हुने भएकाले यो इभेन्ट एक अर्कालाई जोड्ने प्रयास मात्र भएको कम्पनीले जनाएको छ।
Source: http://kinmel.setopati.com/byawasaya/36489/