अमेरिकी लगानी भित्र्याउन पहल गर्दै नेपाली युवा व्यवसायी

नेपाली युवा उद्यमीहरुको प्रतिनिधि मण्डलले अमेरिकास्थित क्यालिफोर्नियाका कंग्रेसम्यान इरिक स्वालवेललाई भेटेर नेपालमा लगानी भित्र्याउन आग्रह गरेका छन्।
अमेरिकाको सिलिकन भ्यालीका लागि नेपाली अबैतनिक पर्यटन दूत प्रकाश थापाको नेतृत्वमा युवा ब्यवसायी सुशिल पोखरेल, ज्ञानेन्द्र खड्का, भुपराज पाठक र मंगलमान तामाङसहितको प्रतिनिधि मण्डलले इरिकसँग भेटवार्ता गरेको हो।

सो अवसरमा युवा व्यवसायी पोखरेलले नेपालमा विशेषगरी जलविद्युत र पूर्वाधारका क्षेत्रमा लगानीको धेरै अवसर रहेको जानकारी गराए । सांसद इरिकले दुई वर्षअघि नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन आफूले सक्रियतापूर्वक खेलेको भूमिकको स्मरण गरे।
इरिक डेमोक्रेटिक पार्टीबाट प्रतिनिधित्व गर्ने युवा सांसद हुन्। उनले अमेरिकाको क्यालिफोर्नियाको १५ औं संसदीय क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन जितेका थिए।
त्यस अबसरमा दूत थापाले सांसद इरिकलाई नेपालीको पहिचान ढाका टोपी पहिर्याइ दिएका थिए। उनले नेपाली संस्कृतिबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न सांसद इरिकलाई आमन्त्रण गरे।
युवा व्यवसायी पोखरेलसहितको टोली अमेरीकी लगानीकर्ताहरुसँग लगानीका विविध क्षेत्रमा सहकार्य गर्नेबारे छलफल गर्न अहिले अमेरिका भ्रमणमा छ। अमेरिकाको क्यालिफोर्निया, टेक्सास, न्युयोर्क, वासिङ्गटन क्षेत्रका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिसँग भेटेर नेपालमा लगानी भित्र्याउने विषयमा छलफल गरेको पोखरेलले बताए।
पोखरेल नेपालमा जलविद्युत, पर्यटन, ट्रेडिङ, हस्पिटालिटी, सफ्टवेयरलगायतको ब्यवसायमा संलग्न सुस्मित ग्रुपकाअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन्।

 

Source: http://setopati.com/kinmel/business/46122